जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 

संविधानसभाको पहिलो बैठक जेठ १२-१५ गतेभित्र

जनदिशा संवाददाता

काठमाडौं, २७ वैशाख

छ राजनीतिक दलले जेठ १२-१५ गतेभित्र संविधानसभाको पहिलो बैठक बोलाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सुझाव दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ राजनीतिक दलको बैठकले प्रधानमन्त्री कोइरालालाई सो सुझाव दिएका हुन् ।

सात दलकोे बैठक भने पनि आन्तरिक विवादमा फसेका कारण सद्भावना पार्टी आनन्दीदेवीका दुवै पक्षलाई बैठकमा प्रवेश नदिएपछि छ दलको बैठक बसेको हो ।

संविधानसभा निर्वाचन सम्पन्न भएपछि पहिलोपटक बसेको उक्त बैठकले निर्वाचन आयोगले निर्वाचनमा विजयी सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गरेको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था भएकाले प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरूसंग छलफल र परामर्श गरी १२ देखि १५ जेठभित्र संविधानसभाको पहिलो बैठक बोलाउन सुझाव दिएको छ । निर्वाचन आयोगले बिहीबार संविधानसभामा विजयी सदस्यको अन्तिम नामावली सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई बुझाएको थियो ।

शुक्रबारको बैठकले संविधानसभाको पहिलो बैठकको कार्यसूची, गणतन्त्र कार्यान्वयनको कार्यसूची, नयाँ सरकार निर्माण प्रक्रिया, सात दल बाहिर रहेका राजनीतिक दलहरूसंगको सहकार्यलगायतका विषयमा राजनीतिक दलहरूबीच साझा अवधारणा बनाउन कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसंग कुरा गर्दै जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेलले कार्यदलमा माओवादीबाट वरिष्ठ नेता डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र विमलेन्द्र निधि, एमालेबाट झलनाथ खनाल र भीम रावल, जनमोर्चाबाट लीलामणि पोखरेल र घनश्याम शर्मा पौडेल, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र संयुक्त वाममोर्चाबाट सीपी मैनाली रहको बताउनुभयो ।

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले बैठकमा संघीय गणतन्त्रात्मक राज्य संरचना र बहुदलीय लोकतान्त्रिक शासन प्रणालीसहितको नयाँ संविधानको निर्माणलगायतका विषयमा संविधानसभा निर्वाचनमा जनताबाट अनुमोदन भएका विभिन्न राजनीतिक दलहरूबीच सहमति र सहकार्य कायम गर्न संवाद र छलफल प्रारम्भ गर्ने निर्णय गरेको बताएका छन् ।

बैठकपछि सात राजनीतिक दलका शीर्ष नेताहरूद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा निर्वाचनद्वारा संविधानसभाको गठन हुने कार्य अब सम्पन्न भएको छ भन्दै नेपाली जनताले संविधानसभामार्फत आफ्नो सार्वभौम अधिकार प्रयोग गरी आफ्नो इच्छाअनुसारको नेपालको संविधान आफैं निर्माण गर्ने महान् घडी आएको उल्लेख गरिएको छ । सात राजनीतिक दलकोे बैठकले अनेकौं अन्योल, प्रतिकूलता र कठिनाइहरूलाई चिर्दै संविधानसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गरेको छ ।

बैठकले ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनमार्फत प्राप्त जनादेशअनुसार संविधानसभा निर्वाचन सम्पन्न गराउने राष्ट्रिय जिम्मेवारी सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्‍याउने सम्पूर्ण नेपाली जनता, विदेशी शुभचिन्तकहरूलगायतप्रति हार्दिक बधाई ज्ञापन गरेको छ ।

विज्ञप्तिमा बैठकले भविष्यमा नयाँ संविधान निर्माण गरी सबल, स्वतन्त्र, समृद्ध एवम् शान्तिपूर्ण नयाँ नेपाल निर्माण गर्ने महान् कार्यमा संविधानभाका सबै सदस्यहरू, सबै राजनीतिक दल, राष्ट्रसेवक, नागरिक समाज, सञ्चारकर्मी, मित्रराष्ट्र र सरकारहरू, राष्ट्रिय-अन्तर्राष्ट्रिय संघ/संस्था र शुभेच्छुकहरूलगायत सबै दिदीबहिनी तथा दाजुभाइसंग आ-आफ्नो ठाउँबाट सक्रिय सहयोग र समर्थन गर्न विज्ञप्तिमा हार्दिक अपिल गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा नेकपा -माओवादी)का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, नेकपा -एमाले) का कार्यवाहक महासचिव अमृत बोहरा, जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल र संयुक्त वाममोर्चाका अध्यक्ष सीपी मैनाली रहनुभएको छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd