|
'माओवादी नेतृत्वको सरकार कसैले रोक्न सक्दैन’
जनदिशा संवाददाता
काठमाडौं, २६ वैशाख
नेकपा -माओवादी)का अध्यक्ष
प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बन्नमा अब कुनै
पनि ताकतले रोक्न नसक्ने बताउनुभएको छ ।
रोल्पा-काठमाडौं गणतान्त्रिक
मञ्चले बिहीबार राजधानीमा आयोजना गरेको रोल्पाबाट विजयी
संविधानसभासद्हरूको अभिनन्दन कार्यक्रमलाई सम्बोधन
गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।
'संविधानसभाको पहिलो बैठकमै
राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन हुनेछ ।
त्यो एउटा युगको अन्त्यपछि अर्को युगको सुरुवात हो,’
अध्यक्ष प्रचण्डको भन्नुभयो, 'त्यही बेला नयाँ सरकारको
घोषणा हुनेछ ।’
उक्त दिन नयाँ युगको सुरुवातको
निर्णयलाई स्वागत गर्न र खुसियाली मनाउन राजधानी, देशका
प्रमुख सहरहरू र ७५ वटै जिल्लाका सदरमुकाममा लाखौं लाख
जनता उत्रने पनि उहाँले बताउनुभयो ।
संविधानसभाको पहिलो बैठकबाट
राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन गर्ने
प्रक्रियालाई देशभित्र र बाहिरका कुनै शक्तिले व्यवधान
गर्न खोजे नयाँ युगको सुरुवातको निर्णयलाई स्वागत गर्न
सडकमा निस्किएका लाखौं जनता विद्रोहमा उत्रने र त्यसले
ती शक्तिहरूलाई मिल्काइदिने चेतावनीसमेत अध्यक्ष
प्रचण्डले दिनुभयो ।
'संविधानसभा निर्वाचनमा माओवादीको
नेतृत्वमा सरकार बन्नुपर्ने नेपाली जनताले स्पष्ट मत
दिइसकेकाले माओवादीको नेतृत्वमा सरकार बन्नमा कुनै पनि
ताकतले रोक्न सक्दैन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
उहाँले पुरानो सोच चिन्तन र हिजो
फटयाइँ गरेका केही शक्तिहरू माओवादी नेतृत्वमा नयाँ
सरकार गठनका चुनौती भएकाले सरकार बन्नमा ढिलाइ भइरहेको
खुलासा गर्नुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले सरकार
बनाउनलाई शुक्रबार बिहान आठ बजे बस्ने सात दलको
बैठकबाट औपचारिक रूपमा ढोका खुला हुने बताउनुभयो ।
'शुक्रबार बिहान बस्ने सात दलको
बैठकबाट नयाँ सरकार बन्ने ढोका खुल्नेछ,’ उहाँले
भन्नुभयो, 'दुई-तीन हप्ताभित्र माओवादीको नेतृत्वमा
सरकार बनिसक्नेछ ।’
नेपालको इतिहासमा कुनै पनि
शक्तिले गर्न नसकेको काम गरेर आएकाले माओवादी पुराना
संसद्वादी दलहरूजस्तो कुनै पनि हालतमा नहुने
प्रतिबद्धता पनि अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभयो ।
उहाँले संविधानसभा निर्वाचनमा नेपाली जनताले वैधानिक र
लोकतान्त्रिक ढंगबाट दिएको आदेशपछि संसारभरिका श्रमजीवी
जनता आˆनो पार्टीको पक्षमा रहेको दाबीसमेत गर्नुभयो ।
उहाँले यतिबेला माओवादीको पक्षमा
नेपालका मात्र नभई विश्वभरका जनता एकजुट भएर उ ठेको पनि
बताउनुभयो ।
सो अवसरमा नेपालमा नयाँ विचारको
जन्म दिने नेपाली जनता भएको र त्यसमा रोल्पाली जनताले
अग्रणी भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । 'हामीलाई
यहाँसम्म रोल्पालीले ल्याइपुर्याएका हुन् । रोल्पालीले
हामीलाई अभिनन्दन गर्ने होइन कि हामीले रोल्पाली
जनतालाई अभिनन्दन गर्नुपर्ने हो,’ भावुक मुद्रामा
प्रचण्डले भन्नुभयो ।
कार्यक्रममा माओवादी प्रवक्ता
एवम् सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले दस
वर्षको जनयुद्ध वास्तविक न्यायपूर्ण जनयुद्ध भएको
निर्वाचनपछि पुष्टि भएको बताउनुभयो ।
'धेरैले जनयुद्धलाई पचाएका थिएनन्
। आरोप पनि लगाएका थिए । तर चुनावपछि जनताले जनयुद्ध
जनयुद्ध नै थियो भन्ने पुष्टि गरिदिए,’ महराले भन्नुभयो
। उहाँले माओवादीको कार्यदिशा र कार्यनीतिले यो विजय
हासिल गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा रोल्पा क्षेत्र नं.
२ र काठमाडौं १० बाट संविधानसभासद्मा विजयी माओवादी
अध्यक्ष प्रचण्ड, दाङ क्षेत्र नं. ३ बाट विजयी प्रवक्ता
कृष्णबहादुर महरा, ललितपुर क्षेत्र नं. १ बाट विजयी
नेता वर्षमान पुन, रोल्पा १ बाट विजयी जयपुरी घर्तीमगर,
काठमाडौं २ बाट विजयी झक्कुप्रसाद सुवेदी,
समानुपातिकबाट चुनिएकाहरू जोखबहादुर महरा, ओनसरी
घर्तीमगर, तारा घर्तीमगर, खुमा सुवेदी र सन्तोषी
विकबाहेक जन्मथलो रोल्पा भएका जनमुक्ति सेना नेपालका
डेपुटी कमान्डर नन्दकिशोर पुन 'पासाङ’, माओवादी
केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज कुलप्रसाद केसी
'सोनाम’, जनमुक्ति सेना नेपालका पाँचौैं डिभिजन
कमान्डर शरदलगायतका नेताहरूको उपस्थिति थियो ।
नेता नेत्रविक्रम चन्द 'विप्लव’ले
भने विविध कारणबस आफू सहभागी हुन नपाएको भन्दै विजयी
उम्मेदवारलाई बधाईको सन्देश पठाउनुभएको थियो ।
विजयी १० जना
संविधानसभासद्हरूलाई रोल्पालीहरूको तर्फबाट पूर्वसांसद
वरमान बुढामगरले अभिनन्दनपत्रका साथ अभिनन्दन गर्नुभएको
थियो । सो अवसरमा रोल्पालीहरूका तर्फबाट मानबहादुर
बुढाले पुराना संसद्वादी दलजस्तो नबन्न माओवादीलाई
सुझाव दिनुभएको थियो ।
|