दस युवा सभासद्लाई सम्मान

जनदिशा संवाददाता

काठमाडौं, २४ वैशाख । वाईसीएलले संविधानसभाको दुवै प्रणालीबाट निर्वाचित आफ्नो संगठनका दसजना युवा सभासद्हरूलाई सम्मान गरेको छ । दसमध्ये पाँच प्रत्यक्ष र पाँच समानुपातिक निर्वाचनप्रणालीतर्फबाट चुनिएका हुन् ।

हालै सम्पन्न केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न मंगलबार वाईसीएल केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो ।

सभासद्हरूलाई अध्यक्ष गणेशमान पुन र महासचिव दिलिपकुमार प्रजापतिले माला र अवीर लगाइदिएर अभिनन्दन गर्नुभएको थियो ।

अभिनन्दित हुनेहरूमा प्रत्यक्ष निर्वाचनप्रणालीबाट निर्वाचित सभासद्हरू चन्द्रबहादुर थापा (संगर), देवेन्द्र पट्टेल, नरबहादुर विस्ट, जुनकुमारी रोका र किरणकुमार राई छन् ।

जसमध्ये राई गणतान्त्रिक खेलकुद संघका केन्द्रीय उपाध्यक्ष हुन् भने अन्य चार जना वाईसीएल केन्द्रीय समितिका सदस्य छन् । चन्द्रबहादुर थापा गुल्मी-१ र देवेन्द्र पट्टेल रौतहट-६ बाट निर्वाचित हुनु भएको हो । पट्टेलले एमाले नेता माधवकुमार नेपाललाई फराकिलो मत अन्तरले पराजित गर्नुभएको थियो । त्यस्तै नरबहादुर बिस्ट सुर्खेत-२, जुनकुमारी रोका रुकुम-१ र किरणकुमार राई सुनसरी-१ बाट निर्वाचित हुनुभएको हो ।

समानुपातिकतर्फ वाईसीएल उपाध्यक्ष उमा भुजेल, केन्द्रीय सदस्यहरू सावित्री दुरा गुरुङ र खुमा सुवेदी विजयी हुनुभएको छ । त्यस्तै अन्यमा सिरहा जिल्ला अध्यक्ष गजत शाह र सन्तोषकुमार चौधरी हुनुहुन्छ । सावित्री दुरा राज्यद्वारा बेपत्ता बनाइएका अखिल -क्रान्तिकारी)का तत्कालीन महासचिव पूर्ण पौडेलकी जीवनसंगीनि हुनुहुन्छ । सुवेदी सहिद पत्नी हुनुहुन्छ उहाँका श्रीमान नन्द न्यौपानेको २०५६ सालमा हत्या भएको थियो ।

सो अवसरमा समानुपातिक प्रणालीतर्फबाट चुनिएका जनवादी युवा लिगका दुई पूर्वअध्यक्षहरू श्रीराम ढकाल र केशवप्रसाद नेपाललाई समेत सम्मान गरियो । ढकाल र नेपाल हाल माओवादी केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज कुलबहादुर केसी सोनामले वाईसीएल जनताबाट अनुमोदित भएको बताउनुभयो । उहाँले वाईसीएल विघटन गर्नुपर्ने भनाइप्रति आपत्ति प्रकट गर्नुभयो । केसीले भन्नुभयो- 'जनताबाट पराजित भएकाहरूले वाईसीएल विघटन गर्ने भन्दैमा यो विघटन् हुन्न । वाईसीएललाई विघटन नभई अझ सशक्त पारिने केसीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सो क्रममा वाईसीएल अध्यक्ष गणेशमान पुनले वाईसीएल विघटन हुनुपर्छ भ्ान्नु अराजनीतिक भएको टिप्पणी गर्नुभयो । यो माग अराजनीतिक छ हारको झोक हामीमाथि पोख्न त्यस्तो कुरा गरिएको हो, पुनले भन्नुभयो । उहाँले आफूहरूलाई जनताले लाहा छाप लगाएर वैधानिकता दिएकाले कसैको आदेशका भरमा सुध्रनु नपर्ने अडान प्रस्तुत गर्नुभयो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा वाईसीएलले निर्वाचनका क्रममा पुर्‍याएको योगदानको अध्यक्ष प्रचण्डले बैठकमा प्रशंसा गर्नुभएको उल्लेख छ । विज्ञप्तिमा एक बुथ दुईसय युथ भन्ने नाराअनुसार निर्वाचनमा परिचालित भएका युवायुवतीप्रति बधाई ज्ञापन गरिएको छ ।

बैठकले युवाहरूका रोजगारी तथा शिक्षाका समस्या समाधान गर्न कृषि, उद्योग, विकास-निर्माण र प्राकृतिक साधन र स्रोत परिचालन कार्यमा व्यापक संख्यामा युवा जनशक्ति परिचालन गरी रोजगारीको सृष्टि गर्ने र नेपालको अनुहार फेर्न समग्र कार्यक्रमका रूपमा नयाँ नेपाल निर्माणका लागि युवा अभियान नामक कार्यक्रम चलाउने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

त्यस्तै वैदेशिक रोजगारका नाममा हुने गरेका अनियमितता तथा ठगी कार्यबाट पीडित भएका युवाहरूको समस्या समाधानमा पनि बैठकले जोड दिने निर्णय गरेको छ ।

सरकारको योजनाअनुसार ट्राफिक व्यवस्थापनमा टा्रफिक प्रहरीलाई सघाउने, भू-माफिया, गुण्डागर्दीलगायतका समस्या समाधानमा समेत सक्रिय रहने निर्णय बैठकले गरेको बताइएको छ ।

भ्रटाचारविरोधी अभियान सञ्चालन गर्ने निर्णय बैठकले लिएको छ । विज्ञप्तिमा भनिएको छ-' भ्रष्टाचारविरोधी अभियान तथा भ्रष्टाचारीहरूलाई कार्बाहीका लागि व्यापक जनसहभागिताको वातावरण तयार गरिने छ ।’

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd