नेपाली भूमि
मिचेर भारतीय सडक निर्माण
सप्तरी २४ वैशाख । सप्तरीको
सीमावर्ती गाविस छिन्नमस्तामा नेपाली भू-भाग मिचेर
भारतले पक्की सडक निर्माण कार्य थालेको छ । छिन्नमस्ता
गाविस वडा नं.३ स्थित सीमामा राखिएको पिलर नम्बर २२८/१
नजिकैबाट भारतले पक्की सडक निर्माण कार्य थालेको हो ।
भारतले ग्रामीण सडक
योजनाअन्तर्गत दसगजा क्षेत्रमै रहेको राममनोहर लोहिया
गेटबाट दक्षिण भारतीय गाउँ न्यौरसम्मको चार किलोमिटर
पक्की सडक निमार्ण कार्य थालेको हो । दसगजा क्षेत्रमा
बिनासहमति कुनै पनि पक्की निर्माण कार्य गर्न नपाउने
नेपाल र भारतबीच भएको सम्झौताविपरीत भारतले उक्त सडक
निर्माण गर्न थालेको बताइएको छ ।
सम्झौताअनुसार सीमास्तम्भको
दुवैतिर दस मिटरसम्मको भू-भाग कुनै पनि देशले उपभोग
गर्न पाउँदैन । भारतले एकसाता अघिदेखि सुरु गरेको
निर्माण कार्यलाई तीव्रता दिएको छ । निर्माणाधीन सो
सडक सात मिटर चौडाइ र दुई मिटर उचाइको छ । माटो भर्ने
काम सकिएपछि लगत्तै कालोपत्रे गर्ने योजना रहेको सडक
निर्माणका भारतीय ठेकेदार शिवनारायण यादवले बताए । सडक
निर्माणबारे स्थानीय नेपाली बासिन्दाले राजविराजस्थित
प्रशासनमा समेत जानकारी गराएका छन् ।
दसगजा क्षेत्रमा भारतले सडक
निर्माण गर्न लागेको गुनासो आएपछि स्थानीय प्रशासनको
एकटोलीले गत बिहीबार स्थलगत निरीक्षण गरेको थियो ।
निरीक्षणबाट फर्केका सशस्त्र प्रहरी बल सुरक्षा
कार्यालय, राजविराजका सशस्त्र प्रहरी उपरीक्षक कमल
गिरीले भारतले उक्त सडक सम्झौताविपरीत निर्माण गरिरहेको
बताउनुभयो । सडक निर्माणबारे भारतका तर्फबाट आफूलाई
कुनै जानकारी नआएपछि स्थानीय बासिन्दाको आग्रहमा
स्थलगत निरीक्षण गर्न जाादा नेपाली भू-भाग मिचेर सडक
निमार्ण गरिएको पाइएको जानकारी पनि उहाँले दिनुभयो ।
यसबारे माथिल्लो निकायलाई जानकारी
गराइसकिएको र भारतीय सुरक्षा निकायसँग पनि छलफल गरिने
उहाँले बताउनुभयो । गत वर्ष सिरहाको हरकट्टीमा पनि
भारतले दसगजा क्षेत्र मिचेर सात किलोमिटर लामो र १५
फिट उचाइको बाँध निर्माण कार्य थालेको थियो । आधा
बाँधमात्र निर्माण गर्दा पनि गत वर्षायाममा त्यस
क्षेत्रका आधा दर्जनभन्दा बढी गाविस डुबानमा परेको थियो
।