काठमाडौं, फागुन २९ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको हवाई यातायातको विकासका लागि सरकारले विभिन्न रचनात्मक कार्यहरु गरिरहेको बताउनुभएको छ । आज यहाँ आयोजित हवाई यातायात नियन्त्रक महासङ्घको ५१ औँ अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले हवाई यातायातको सुरक्षाका सन्दर्भमा कुनै पनि सम्झौता गर्न नसकिने र त्यसका लागि आवश्यक सबै व्यवस्था मिलाइने बताउनुभयो ।
उहाँले सरकारले विश्वको विकासशील अर्थतन्त्रको रुपमा उदाउँदै गएको हवाई यातायातलाई व्यवस्थित र मर्यादित बनाउन सबै उपाय अवलम्बन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उल्लेख गर्नुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि हवाई यातायातको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै प्रधानमन्त्री डा भट्टराईले भन्नुभयो– ‘आर्थिक उन्नति र विकासका लागि पनि यो क्षेत्रको उल्लेख्य विस्तार गरिनु आवश्यक छ ।’
खुला हवाई नीतिले नेपालको हवाई क्षेत्रमा उल्लेखनीय विकास भएको बताउँदै प्रधानमन्त्रीले यो क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको छ भन्नुभयो । नेपालमा हवाई यातायात अत्यन्त आवश्यकीय साधन भएकाले सहज र सरलरुपमा यसलाई आमजनताको पहुँचमा पु¥याउन सरकार र निजी क्षेत्र दुवै मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्ट मगरले नेपालको हवाई यातायात बिलासिताको साधनभन्दा पनि आवश्यकताको साधन भएकाले यसलाई सुरक्षित बनाउन सबै उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो । नेपालको पर्यटन क्षेत्रको विकासका लागि हवाई यातायातको विकास गर्नुपर्छ भन्ने धारणाका साथ सरकारले यस क्षेत्रमा मरिमेटेर काम गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो– ‘हवाई सुरक्षाको विषयमा एयर ट्राफिकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई व्यवस्थित र समयानुकूल बनाउनु पनि आवश्यक छ ।’ नयाँनयाँ वैज्ञानिक आविष्कार तथा विकासलाई अवलम्बन गर्न सकिए मात्रै हाम्रो हवाई क्षेत्र सुरक्षित हुने भएकाले त्यसका लागि आफ्नो मन्त्रालयले सरोकारवाला सबै निकायसँग छलफल गरेर अगाडि बढेको मन्त्री विष्टले बताउनुभयो ।

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook 