जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 
रिपोर्ट

शोषणको रुपमा जीवित बालीघरे प्रथा

प्रतीक इच्छुक

सल्यान, ४ मङ्सिर : श्रमशोषणका रुपमा रहेको बालीघरे प्रथाले सल्यानमा अहिले पनि निरन्तरता पाइरहेको छ । समयले कोल्टो फेरेको छ भनेर दैनिक सुन्न पाइएपनि यर्थाथता भने अर्कै छ । सल्यानका दलितहरूले विभिन्न सीपमूलक काम गरे पनि अहिलेसम्म श्रमको सम्मानपूर्ण ज्याला पाउन सकेका छैनन् ।

दार्मकोट १ का वीरसिंह नेपालीले दिनभरि अर्काको हासिया, कोदालो लगायतका कृषिऔजार तथा घरायसी सामाग्री बनाउँछन् । तर साँझ परेपछि एकछाक खानको समस्या पर्ने उनले बताए । वर्षभरि काम गरे बापत केही अन्नमा टार्ने गरेको उनको भनाइ छ । दार्मकोट-६ का चन्द्रबहादुर परियारले सानैदेखि कपडा सिलाउने पेशा अगाल्दै आए तर उनको जीवनमा कुनै परिवर्तन आएन । उमेरले छ दशक नाघिसकेका उनले काम गरेको श्रमबापत वर्षभरिमा पाँच हजार बराबरको धान, मकै, गहुँ, कोदो पाउँछन् । यसले उनलाई घर चलाउन हात्तीको मुखमा जिरा जस्तै हुन्छ ।

यस्तै बेथा छ सल्यान मुलखोलाका भद्रे वि.क.को पनि ३४ वर्षदेखि गाउँभरिका सबैको फलाम कुट्दा पनि उनको जीवनस्तर सुधि्रएको छैन । फलाम कुटेर उनले जसोतसो सात जनाको परिवार पालेका छन् । साहुहरूलाई आफ्नो परिश्रमको ज्याला बढाउन भन्दा उल्टै हप्की खानुपरेको तीतो अनुभव सुनाउँदै उनी भन्दछन्, 'सानो छादा जति ज्यालामा काम गर्नुपथ्र्यो, अहिले पनि त्यही रकममा काम गर्नुपर्ने बाध्यता रहेको छ । हरेक वस्तुको मूल्यले आकाश नाघिसक्यो ।

मानव-शोषणको रूपमा रहेको बालीघरे प्रथाबाट जीविकोपार्जन गर्नेहरूको संख्या सल्यान जिल्लामा करिब छ सयको संख्यामा छ । यहाँका ४७ मध्ये ३६ वटा गाविसहरूमा यो प्रथा कायमै छ ।

पक्षघातबाट तीन सय बढी बाख्रा मरे, 'ब्यानोसाइट फोर्टुनामक औषधि प्रभावहीन

जनदिशा संवाददाता

बाँके, ४ मङ्सिर : बाख्रामा हुने पक्षघात रोकथामका लागि पशु चिकित्सकहरूले सिफारिस गरेको 'ब्यानोसाइट फोर्टुनामक औषधि प्रभावहीन भएपछि बाँके र बर्दियामा किसानका तीन सय बढी बाख्राहरू मरेका छन् ।

पक्षघातको लक्षण देखिएलगत्तै सिफारिस गरेको औषधि प्रयोग गर्दा समेत रोग नियन्त्रण नभएको र पशु चिकित्सकहरूले कुम्री रोगका लागि सिफारिस गरेको औषधिले काम गर्न छाडेकाले कुन औषधि प्रयोग गर्ने भन्ने समस्या उत्पन्न भएको छ ।

केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशालाका चिकित्सक केदार कार्कीले पक्षघातका लागि सिफारिस गरेको औषधिले काम गर्न छाडेको स्वीकार गरेका छन् ।

उनले मर्ने बाख्राहरूमा भिन्नै प्रकृतिका जिवाणु फेलापरेको र त्यसका लागि कुन औषधि प्रयोग गर्ने भन्ने अनुसन्धान भइनसकेको बताएका छन् । 'खाद्य संस्थानले बाँके र बर्दियाका विभिन्न ठाउँबाट काठमाडौं पठाउँदा मरेका ५० बाख्राको पोस्टमार्टम गरें,’ अन्वेषण प्रयोगशालाका डा. कार्कीले भने, 'पहिलेजस्तो जिवाणु देखिएन त्यसैले रोगको अनुसन्धान गर्नुपर्छर् ।’

बाँकेको कुसुम, ढकेरी, कोहलपुर, बनकटवा र बर्दियाको लखना, बाँसगढी, डेउढाकला, लक्ष्मणा, माछागढमा बाख्राहरू पक्षघात भएर मर्ने क्रम बढेको छ । त्रिभुवन विश्वविद्यालयवाट रोगको सोध अध्ययनमा आएका ओमप्रकाश न्यौपानेले बढ्दो पक्षघातको विकल्पमा कुनै औषधि नभएकाले तत्काल रोगका परजीवी र औषधि पत्ता नलगाए रोगले भयावह रूप लिनसक्ने बताएका छन् ।

सेतेरिया कमरीनामक परजीवीले हुने पक्षघातका लागि सिफारिस गरेको ब्यानोसाइड फोर्टले काम नगरेपछि पशु स्वास्थ्य निर्देशनालय तत्काल अनुसन्धान गर्न चिकित्सकहरूको टोली पठाउनुपर्ने हो । सोधकर्ता न्योपानेले भने, 'सोधका क्रममा दुई/तीन प्रकारका परजीवी देखिए पनि निर्देशनालयले ल्याब प्रयोग गर्न दिएको छैन । मैले व्यक्तिगत रूपमा रोग पत्ता लगाउने प्रयास गरेको छु उनले भने । सोधका लागि सङ्कलित रगत र गोबर परीक्षणमा नयाँ परिजीवी देखिएको उनले बताए ।

छोटी भन्सार नाका सञ्चालन नहुँदा तस्करी बढयो

उत्तमराज ओझा

धनगढी, ४ मङ्सिर : देशमा स्थायी शान्ति बहालीको तीन वर्ष बितिसक्दा पनि द्वन्द्वकालमा क्षतिग्रस्त बनेका कैलालीका छोटी भन्सार कार्यालयहरू अझै सञ्चालनमा आउन सकेका छैनन् ।

छोटी भन्सार कार्यालय पुनस्र्थापित नहुदा बर्सेनि लाखौंको राजस्व चुहावट हुने गरेको छ । द्वन्द्वकालअघि कैलालीमा सातवटा छोटी भन्सार कार्यालय सञ्चालित थिए । द्वन्द्वकालअघि कैलालीमा बर्दवा चौगुड्डी, शक्ति खक्रौला, सोनाफाटा, पृथ्वीपुर, घुइयाफाटा, भडरी र कनरी छोटी भन्सार नाका सञ्चालित थिए । यीमध्ये अहिले खक्रौला र पृथ्वीपुर छोटी भन्सार नाका मात्रै सञ्चालनमा आएका छन् ।

द्वन्द्वकालअघि यी भन्सार कार्यालयबाट लाखौंको राजस्व सङ्कलन हुने गरेको थियो । क्षतिग्रस्त बनेका छोटी भन्सार कार्यालयमध्ये पाँच छोटी भन्सार कार्यालयको पुनर्निर्माण हुन नसक्दा सञ्चालनमा नआएका हुन् ।

द्वन्द्वकालमा विस्थापित भएका छोटी भन्सार कार्यालय पुनस्र्थापित नहुँदा तस्करी मौलाएको छ । भन्सार नाका सञ्चालन हुन नसक्दा सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा मालसामान भित्रिएको र तस्करी बढेको व्यवसायीहरू बताउँछन ।

सीमावर्ती भारतीय बजारबाट नेपालमा अवैध मालसामान भित्रिादा स्थानीय बजारको व्यापार व्यवसायमा कमी आएको स्थानीय व्यापारी प्रेम मल्ल बताउनुहुन्छ । भन्सार नाका सञ्चालन हुन नसक्दा तस्करी बढेको भन्सार कार्यालयका प्रमुख गोपाल खत्री स्विकार्नुहुन्छ ।

छोटी भन्सार कार्यालय पुनस्र्थापित गर्न सरकारी निकायले चासो दिएको छैन । केन्द्रले भन्सार नाका पुनस्र्थापना गर्नेबारे नीति तथा कार्यक्रम नबनाएका कारण कैलालीका पाँच भन्सार कार्यालय पुनस्र्थापित नभएको कैलाली भन्सार कार्यालयका प्रमुख गोपाल खत्री बताउनुहुन्छ । भौतिक पूर्वाधार निर्माण र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नहुँदा कैलालीका पाँच छोटी भन्सार कार्यालय सञ्चालन हुन नसकेको प्रमुख खत्री बताउनुहुन्छ ।

त्रासदीपूर्ण वातावरणमा छन् गामका जनता, 'बरू हामीलाई जनयुद्धकै बेलामा शान्ति सुरक्षा थियो

मानसिंह विक

रोल्पा, ४ मङ्सिर : देशमा शान्ति स्थापना भए पनि रोल्पाको पूर्वी गामका बासिन्दा झनै त्रासदीपूर्ण वातावरणमा बाँच्न विवश छन् । गाउँमै संविधानसभा निर्वाचनको पाँच दिनअगाडि एक माओवादी जिल्ला नेताको अज्ञात समूहबाट अत्याधुनिक हतियारद्वारा हत्या भएपछि त्रासमा रहेको गाममा अहिले नकावधारी समूहबाट धम्की र अपहरणजस्ता घटनाहरू दिनानुदिन बढिरहेका छन् ।

कात्तिक २८ गते मात्र सुलिचौर बजारबाट घर फर्किरहेका बलबहादुर बुढालाई हतियार बोकेको दुई नकावधारीले अपहरण गरेर बेत्ता पारेका छन् । गाम-२ घर भएका बुढा साँझपख भित्री गामबाट अपहरणमा परेका थिए ।

इलाका प्रहरी कार्यालय पोबाङका प्रनानी बलबहादुर शाहीको नेतृत्वमा एक दर्जन प्रहरी बुढाको खोजीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी मङ्गलारबाट परिचालित भएका हुन् ।

अहिले गामको शान्ति सुरक्षाको अवस्था निकै जोखिमपूर्ण बन्दै गएको स्थानीयबासीहरू बताउँछन् । माओवादी कार्यकर्ताको हत्याराहरू गाउँमा भएको स्थानीयबासीले बताए पनि कुनै पक्षले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सकेको छैन । 'साँझ भयो कि त हतियार बोकेका आउँछन् । मार्छम् भनेर धम्की दिन्छन,’ एक स्थानीयबासीले भने, 'बरु हामीलाई जनयुद्धकै बेलामा शान्ति सुरक्षा थियो ।’

कसैलाई भनिदिए मारिदिने धम्की दिनाले आफूहरू जीवन रक्षाका लागि पनि केही गर्न नसकिरहेको एक स्थानीयबासीले बताए । 'के गर्ने हामीले कहिल्यै नदेखेका हतियार बोकेर आउँछन् । के-के काममा लगाउँछन्,’ उनले भने, 'कुन दिन मार्ने हुन् थाहा छैन ।’

केही समय अगाडि माओवादी कार्यकर्ताको हत्याराहरू गाममै रहेको जानकारीपछि कारबाहीका लागि प्रहरी र वाईसीएलको संयुक्त टोलीले खोजिनिती गरेको थियो । तर सफलता हात पार्न सकेको थिएन । अहिले उक्त कार्यलाई पूरा गर्न जिल्ला प्रहरी कार्यालयबाट नयाँ सुरक्षा रणनीति अपनाइने प्रहरीले जनाएको छ ।

झन्डै डेढ महिना अगाडि मात्र सुलिचौर बजारबाट केही गामकै मान्छेबाट प्रहरीले एक दर्जन बन्दुक र गोली प्रहरीले बरामद गरेको थियो ।

जनयुद्धताका चर्चामा रहेको गाम माओवादी अखडा भनेर पनि परिचित छ । जनयुद्ध सुरुआत हुनुपूर्व त्यहाँ तीव्र दमन पनि भएको थियो । विगतमा जनतालाई फटाहाहरूले दमन गरेकै कारण जनयुद्ध सशक्त भएको बताउँदै माओवादी कार्यकर्ताहरू फेरि अर्को क्रान्ति सुरु गर्नुपर्ने बाध्यता आइपर्न थालेको बताउँछन् ।

संविधानसभाको पाँच दिन अगाडि मात्र गाममा माओवादी जिल्ला सदस्य टेकबहादुर बुढा र गामबाटै आई जैमाकसलामा जनकम्युन साधारण शाखा सदस्य भक्तबहादुर विकलाई गोली हानी हत्या गरिएको थियो ।

गाममाजस्तै रोल्पाको पूर्वी भेगमा अहिले केही हतियारधारी समूहले माओवादीका जिल्लास्तरीय नेतालाई मार्ने धम्की दिइरहेको बताइएको छ ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065