जनदिशा दैनिक

जनादेश साप्ताहिक

The Red Star

सश्लेषण मासिक

 
समाचार

साक्षरता अभियानसम्बन्धी निर्देशिका ल्याइने

जनदिशा संवाददाता

काठमाडौं, ४ मङ्सिर : सरकारले साक्षरता अभियानसम्बन्धी निर्देशिका ल्याउने भएको छ ।

राजधानीमा बुधबार आयोजित अन्तक्रिर्या कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामप्रवेश यादवले सो जानकारी दिनुभएको हो ।

उहाँले सरकारले साक्षरता अभियानसम्बन्धी निर्देशिका तयार गर्न थालेको जनाउँदै यो अभियानमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थीलगायतका विभिन्न तह र तप्काका जनतालाई सहयोगका लागि आग्रह गर्नुभयो ।

'शिक्षा मन्त्रालय एक्लैले यो अभियान सफल गर्न सक्दैन, सबैले सहयोग र सल्लाह दिनुपर्छ,’ यादवले भन्नुभयो-'सरकारले सबैसँग सल्लाह गरी निर्देशिका तयार पार्न चाहन्छ ।’

उक्त कार्यक्रममा शिक्षक संगठनलगायत अन्य संस्थाका प्रतिनिधिहरूले सरकारले आफूसँग सल्लाह नै नगरी निर्देशिका तयार गर्न लागेको भनी आलोचना गरेका थिए ।

सोही कार्यक्रममा शिक्षा सरोकारवालाहरूले दुई वर्षभित्र सबै निरक्षारलाई साक्षर बनाउने साक्षरता अभियान शिक्षा क्षेत्रमा एक ठूलो उपलब्धी भएको बताए ।

कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्रका निमित्त निर्देशक दिव्यकला श्रेष्ठले साक्षरता अभियानमा १५ देखि ६० वर्ष उमेर समूहका व्यक्तिहरूलाई समेट्नुपर्ने बताउनुभयो ।

उहाँले यो वर्षभित्र २६ लाख ११ हजार ९ सय ८० जनालाई साक्षर बनाउने उद्देश्य रहेको जानकारी दिदैं भन्नुभयो-'वैशाखदेखि पहिलोचरण र माघ १ गतेदेखि दोस्रोचरणको अभियान थालिने छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मधु तिमिल्सिनाले गरिबी नै निरक्षरताको जड भएको प्रष्ट पार्दै गरिबी निवारणको कार्यक्रम पनि सँगसँगै लैजानुपर्ने विचार राख्नुभयो ।

शिक्षक केशव भट्टराईले निरक्षरहरूको तथ्यांक संकलन गर्नुपर्ने बताउनुभयो ।

सरकारी तथ्यांकअनुसार १५देखि ४५ वर्ष उमेर समूहका निरक्षर ५६ लाख र १५देखि ६० वर्ष उमेर समूहका करीब ७८ लाख व्यक्ति निरक्षर छन् ।

भ्रष्टाचार नियन्त्रण गर्नु कर्मचारीको दायित्व

जनदिशा संवाददाता

काठमाडौं, ४ मङ्सिर : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख ललितबहादुर लिम्बुले भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन र अनुशासन कायम गर्नु सम्पूर्ण कर्मचारीहरूको दायित्व रहेको बताउनुभएको छ ।

राजधानीमा बुधबार आयोगले आयोजना गरेको अन्तरक्रियामा बोल्दै कार्यवाहक प्रमुख लिम्बुले भन्नुभयो, 'देशमा सुशासन कायम गर्नु हामी सबैको कर्तव्य हो, हामी आआपनो ठाउँबाट योगदान गर्न तयार हुनुपर्छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार अनुभूति सूचकाङ्क स्मरण गर्दै लिम्बुले भन्नुभयो, 'विगतका वर्षहरूमा नेपालको सूचकाङ्क २.५ भई १३१औं स्थानमा रहेकोमा हाल २.७ रही १२१औं स्थानमा रहेको र यसबाट पनि नेपालमा भ्रष्टाचार उल्लेखनीय रूपमा घट्न नसकेको प्रष्ट हुन्छ ।

कार्यक्रममा आयुक्त वेदप्रसाद सिवाकोटीले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धीमा हस्ताक्षर भएको ५ वर्ष बितिसक्दा पनि नेपालले अनुमोदन गर्न नसकेको बताउँदै व्यवस्थापिका-संसदबाट यथाशीघ्र यसलाई अनुमोदन गराउन मुख्य सचिवको ध्यानाकर्षण गराउनुभएको थियो ।

सोही कार्यक्रममा मुख्यसचिव डा.भोजराज घिमिरेले भ्रष्टाचार नियन्त्रणको कार्यमा आयोगलाई निरन्तर रूपमा सहयोग गर्न नेपाल सरकारका सम्पूर्ण सचिवहरूलाई निर्देशन दिनुभयो ।

भ्रष्टाचार नियन्त्रणका लागि पारदर्शिता नै महत्वपूर्ण कडी रहेको भन्दै निर्णय प्रक्रिया छिटोछरितो र सरल हुनुपर्नेमा डा.घिमिरेले जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरूले भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा आयोगलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

बालिका बलात्कार गर्ने प्रहरीहरु कारबाहीमा

जनदिशा संवाददाता

रोल्पा, ४ मंसिर : पश्चिम पाखापानी लामाचौर मेला हेर्न गएका दुई स्कुले बालिकालाई बलात्कार गर्ने प्रहरी कारबाहीमा पर्ने भएका छन् । सदरमुकाम लिबाङमा मंगलबार भएको सर्वदलीय छलफलले कानूनको उल्लंघन गर्ने दुई प्रहरी जवानलाई कारबाही गर्ने निर्णय गरेको छ ।

मङ्सिर १ गते पाखापानी स्यालापाखा मेलाको सुरक्षामा खटिएका दुई प्रहरी जवानले दुई बालिकालाई बलात्कार गरेका थिए । कक्षा सातमा पढ्ने १३ र १४ वर्षीया बालिकालाई प्रहरी जवान विष्णु कठायत र चन्द्र ठकुरीले बलात्कार गरेका थिए ।

घटनाको अखिल (क्रान्तिकारी) रोल्पाले विरोध गरेको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष तुकमान महराले मङ्गलबार विज्ञप्ति जारी गरी प्रहरीहरूको यस्तो दुव्र्यवहारले गर्दा नै विगतमा रोल्पाका गाउँबस्तीबाट प्रहरी चौकीहरू लिबाङमा भगाउनु परेको स्मरण गराउनुभएको छ । नयाँ नेपालमा पनि प्रहरीको यस्तो विकृति दोहोरिइरहे फेरि ग्रामीण इलाकाबाट फिर्ता गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना विभाग प्रमुख श्याम खत्रीले मेलाको सुरक्षामा खटिएका प्रहरी जवानहरूले त्यो कार्य गरेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । उहाँले बलात्कार गर्ने प्रहरीलाई कानुनअनुसार कारबाही गर्ने जानकारी गराउनुभयो ।

मेलामा खटिएका प्रहरीले नै यस्तो कुकृति गरेपछि जिल्लामा प्रहरीविरुद्ध चर्को स्वर उठ्न थालेको छ । 'प्रहरीका नराम्रा कामहरूले विगतमा कतिको परिवारहरू बिचल्लीमा परेका छन्,’ महिला विकास कार्यालयका अधिकृत अञ्जु ढुङ्गानाले भन्नुभयो, 'विगतमा बिचल्ली पारिएका परिवारहरू आज घर न घाट भएका छन् ।’

'पूर्ण प्रेस स्वतन्त्रताका लागि पूर्ण लोकतन्त्र आवश्यक’

जनदिशा संवाददाता

काठमाडौं, ४ मङ्सिर : नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द आचार्यले पूर्ण प्रेस स्वतन्त्रताका लागि पूर्ण लोकतन्त्र हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।

महासङ्घको मोरङ शाखाद्वारा बुधबार विराटनगरमा आयोजित 'संविधान निर्माणमा सञ्चारकर्मीको भूमिकुँ विषयक अन्तक्रिर्यामा कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले सो विचार राख्नुभएको हो ।

उहाँले यसका लागि अब बन्ने नयाँ संविधानमा पूर्ण लोकतन्त्रको सुनिश्चितता हुनुपर्ने पनि बताउनुभयो । उपाध्यक्ष आचार्यले श्रमजीवी पत्रकार ऐन प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सरकारसँग आग्रह गर्नुभयो ।

साथै उहाँले आम नेपाली पत्रकारको सुरक्षाको अवस्था दिनदिनै गम्भीर बन्दै गएकाले त्यसप्रति सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घका जिल्ला अध्यक्ष शम्भु भण्डारीको सभापतित्व र सचिव विक्रम लुइाटेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घ, नेपालका गणेश लम्साल, प्रेस चौतारीका नरेन्द्र दाहाल, प्रेस युनियनका शेखर रेग्मी, जिल्ला बार एसोसिएसनका अध्यक्ष सीताराम राई, नेपाली काङ्ग्रेसका पिताम्वर दाहाल, एमालेका महेश रेग्मी, मधेसी जनअधिकार फोरमका जयराम यादव, जनमोर्चा, नेपालका प्रेम पराजुलीलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रमलगत्तै उपाध्यक्ष आचार्य र स्थानीय पत्रकारबीच पत्रकारितामा देखिएका र श्रमजीवी पत्रकारका समस्याबारे अन्तक्रिर्या भएको थियो ।

त्यस्तै त्यसअघि उपाध्यक्ष आचार्य किरात वर्कस पार्टीले आक्रमण गरेको एभिन्युज टेलिभिजनको कार्यालय पुगी वर्कस पार्टीका प्रतिनिधिसँग आक्रमणका बारेमा छलफल गर्नुभएको थियो । त्यसक्रममा वर्कसका प्रतिनिधिले पत्रकारिताजगत्माथि भएको आक्रमण भूल नै भएको स्वीकार्दै माफी मागेका थिए । उनले दोषी कार्यकर्तालाई निलम्बन गर्ने आश्वासन दिएका थिए ।

उपाध्यक्ष आचार्यले बुधबार नै व्लास्ट दैनिक, मर्निङ पोस्ट दैनिक, विराट दैनिक, जनविद्रोह दैनिक, गणतन्त्र एफएम धरान पुगी श्रमजीवी पत्रकारका समस्याबारे छलफल गर्नुभएको थियो ।

बुधबार बिहान स्थानीय फास्ट न्युज दैनिकले उपाध्यक्षको स्वागतमा कार्यक्रम राखेको थियो । त्यसक्रममा पनि श्रमजीवी पत्रकार र पत्रपत्रिकाका समस्याबारे अन्तक्रिर्या भएको थियो ।

योग्यता ढाँटेको निहुँमा दुलही फिर्ता, जन्ती कुटिए, पाँच लाख क्षतिपूर्ति

जनदिशा संवाददाता

बुटवल, ४ मङ्सिर : बेहुलीको योग्यता ढाँटेको निहुँमा विवाहकै दिन केटापक्षले बेहुली फिर्ता गरेका छन् ।

नवलपरासीको प्रगतिनगर दलदलेबाट रुपन्देहीको नयाँमिलमा विवाहका लागि आएका जन्तीसँग केटीको शैक्षिक योग्यताका विषयमा विवाद भएपछि कुटाकुट भएको थियो ।

विवाहका लागि योग्यताको बारेमा त्यसअघि नै छिनोफानो गरिसकेपनि विवाहका दिन बुधबार केटीपक्षले शैक्षिक योग्यता ढाँटेको भन्दै जन्तीसमूहले कुरा उठाएपछि विवाद शुरु भएको थियो ।

नयाँमिलका हुमनाथ पाण्डेको घरमा विवाहका लागि आएका जन्ती विवाद भएपछि दुलही नलिइकन फर्किएका थिए । कुटपिटबाट दुलहा लालाप्रसाद काप्fm्ले तथा उनका आफन्त तारा पाण्डे घाइते भएका छन् ।

पाण्डेको बुटवलमा उपचार हुन नसकेपछि काठमाडौं लगिएको अस्पताल स्रोतले जनाएको छ ।

केटापक्षले केटीले बीए पास गरेको भनिए पनि आइएमात्र पास गरेको थाहा भएपछि विवाह अस्वीकार गरेको बताएका छन् ।

घटनापछि केटीपक्षले उपचार खर्च स्वरुप पाँच लाख क्षतिपूर्ति तिरेको बताइए पनि प्रहरीले भने यसको पुष्टी गरको छैन ।

इलाका प्रहरी कार्यालयका डीएसपी जगतमान श्रेष्ठले अबदेखि यस विषयमा विवाद नगर्ने सहमतिमा घटना मिलाइएको बताएका छन् ।

घटनालाई स्थानीय बुद्धिजीविहरूले भद्दा सामन्ती संस्कारको संज्ञा दिएका छन् ।

छापाखाना मजदुरहरुको गम्भीर ध्यानाकर्षण

जनदिशा संवाददाता

काठमाडाँ, ४ मङ्सिर : आइतबार राति हिमाल खबरपत्रिकाको माइतीघरस्थित ग्राहकप्रति वितरण गर्ने कष्टमर सोलुसनको कार्यालयमा अज्ञात समूहले गरेको आक्रमणप्रति उक्त प्रकाशनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ।

हिमाल खबरपत्रिकासँग आबद्ध अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघले समेत त्यहाँस्थित ३४ जना कर्मचारीलाई गैरकानुनी रुपमा अवकाश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गत कात्तिक १८ र २४ गते कर्मचारीको अवकाश र सरुवा नगर्नु भन्ने सूचना विभाग र श्रम मन्त्रालयले पठाएको पत्र बेवास्ता गर्दै हिमाल मिडियाका व्यवस्थापन पक्षले कर्मच्ाँरी इकाइका पदाधिकारीहरू टंक संग्रौला र आशिष खड्कालाई सेवाबाट हटाएको र १ गतेको अङ्कमा तस्वीरसहित प्रकाशन गरेकोप्रति पनि मजदुर संघले कडा शब्दमा भत्र्सना गरेको छ ।

अखिल नेपाल सञ्चार छापाखाना र प्रकाशन मजदुर संघ, हिमाल मिडिया इकाई कमिटीका उपाध्यक्ष जनकप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा यस्तो जनाइएको हो ।

चार वर्षपछि पति मारेको खुलासा

रामकृष्ण थापा

सिन्धुपाल्चोक, ४ मङ्सिर : २०६१ सालदेखि रहस्यमय बनेर हराइरहेका सिङपाल गाविस-६ निवासी सानुकान्छा तामाङको सोमबार लास भेटिएको छ ।

घाँस काट्न गएका गाउँलेहरूले गाउँमाथिको जङ्गलमा गाडिएको लासलाई जंगली जनावरले उतारिराखेको अवस्थामा फेला पारेका हुन् ।

लास सानुकान्छाकै हो भन्ने किटान भएपछि उनकी श्रीमती भीममाया तामाङलाई गाउँलेले कडाइपूर्वक सोधपुछ गर्दा उनले माइती गाउँका दाजुभाइ र आफ्नै छोरासहितको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी श्रीमान्को हत्या गरेको खुलासा गरिन् ।

माइतीको विषयमा घरमा सामान्य विवाद हुने गरेको र पछि त्यो विषयले उग्ररूप लिंदै गएकोले श्रीमान्लाई मारेर घरमाथिको जंगलमा लगेर गाडेको भीममायाले गाउँलेसामु बयान सुनाइन् ।

यसअघि पति बेपत्ता भएको भनी सबैलाई उनले ढाँट्दै आएकी थिइन् ।

हत्या श्रीमतीले गरेको खुलासा भएपछि इलाका प्रहरी कार्यालय नवलपुरलाई खबर गरिएको छ । घटना भएको चार वर्ष बितिसकेकोले हत्यारा पक्रन अनुसन्धान जारी रहेको सहायक प्रहरी निरीक्षक शेरबहादुर पाण्डेले जानकारी दिनुभयो ।

संविधानसभा चुनावका
लागि नेपाल कम्युनिष्ट पार्टी
(माओवादी)को प्रतिबद्धता-पत्र

वर्ड फाइल

पीडीएफ फाइल

Links

www.cpnm.org

Maoist Information

Bulletin

www.awtw.org

www.rwor.org

www.wprm.org

 

Nepali Font 

 

For Comments and Feedback- krishnasenonline

@yahoo.com

 

 

© All rights reserved with Krishnasen Memorial Publication Pvt. Ltd

This page has viewed  
free hit counter
times since 7 Baishakh 2065