|
कभर स्टोरी
माओवादी बैठक
जारी
जनदिशा संवाददाता
काठमाडौं, ४ मङ्सिर
: नेपाल कम्युनिष्ट पार्टी(माओवादी)
केन्द्रीय समितिको पूर्णबैठक बुधबार पनि जारी रह्यो ।
सोमबारदेखि शुरु भएको बैठक मंगलबार नबसी बुधबार पुनः
सुरु भएको हो ।
भक्तपुरको खरिपाटीमा जारीे
बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ केन्द्रीय
सदस्य किरणद्वारा पहिलो दिन प्रस्तुत दस्तावेज माथि
छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी
दिनुभएको छ ।
उहाँका अनुसार बुधबारको बैठकमा
सचिवालयमा रहेका केन्द्रीय सदस्यहरूले प्रस्तावबारे आ-आफ्ना
धारणा राख्नुभएको थियो । पहिलो दिनको बैठकमा प्रस्ताव
प्रस्तुत गरेपछि पार्टी अध्यक्ष प्रचण्डले आफूले
गणतन्त्र र कार्यदिशाबारे बहस खुला गरेको बताउनुभएको
थियो ।
अध्यक्षको प्रस्तावमा संघीय
प्रतिस्पर्धात्मक जनपक्षीय गणतन्त्र उल्लेख गरिएको छ
भने नेता किरणको प्रस्तावमा जनगणतन्त्र हुनुपर्ने
उल्लेख गरिएको छ ।
बुधबारको बैठकमा वरिष्ठ नेता
डा.बाबुराम भट्टराई, रामबहादुर थापा 'बादल ’,
पोष्टबहादुर बोगटी 'दिवाकर’, विदेश विभाग प्रमुख सिपी
गजुरेल 'गौरव’, पार्टी प्रवक्ता कृष्णबहादुर महरा, देव
गुरुङ, वर्षमान पुन 'अनन्त’, नेत्रविक्रम चन्द 'विप्लव’,
टोपबहादुर रायमाझी 'अनिल’ले आ-आफ्ना धारणा राख्नुभएको
थियो ।
बैठकमा बोल्ने सदस्यहरूले
संगठन सुदृढिकरण र शुद्धिकरणमा जोड दिएका छन् ।
पार्टीभित्र देखापरेको विवादलाई सदस्यहरूले इतिहासकै
महान् बहसको प्रक्रियाको संज्ञा दिएका छन् । एक
केन्द्रीय सदस्यका अनुसार बहसले पार्टीलाई कमजोर पार्ने
होईन अझ सुदृढ बनाउन सहयोग पुर्याउँछ ।
बैठकमा दुईजना सदस्यले दुबै
अवधारणा मिलाएर लैजानुपर्ने धारणा राखेकोे बाँकी
सदस्यहरूले जनगणतन्त्र र जनपक्षीय गणतन्त्रका पक्षमा
आफ्नो मत राखेका थिए ।
बैठक बिहीबार बिहान सात बजे
सोही स्थानमा पुनः शुरु गरिने जानकारी दिइएको छ ।
बिहीबारको बैठकमा बाँकी २६ जना केन्द्रीय सदस्यहरूले
आ-आफ्ना धारणा राख्नेछन् ।
बैठक लम्बिएपछि आजबाट हुने
भनिएको राष्ट्रिय भेला पर सरेको छ । भेलाका लागि
देशभरिका राज्य समिति सदस्यहरू राजधानीमा आइसकेका नेवाः
राज्य समितिले जानकारी दिएको छ । भेला बिहीबारबाट शुरु
गरिने कार्यक्रम रहेको थियो ।
प्रशासन पुनःसंरचना आयोग गठन
जनदिशा संवाददाता
काठमाडौं, ४ मङ्सिर
: सरकारले प्रशासन पुनःसंरचना आयोग गठन गरेको छ
। मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले सामान्य
प्रशासन मन्त्री पम्फा भुसालको अध्यक्षतामा नौ सदस्यीय
आयोग गठन गरेको हो ।
बैठकपछि सूचना तथा
सञ्चारमन्त्री एवं सरकारी प्रवक्ता कृष्णबहादुर महराले
दिनुभएको जानकारीअनुसार आयोगका सदस्यहरूमा
डा.महेन्द्रनारायण मिश्र, अच्युतराज राजभण्डारी, विजया
केसी, बालकृष्ण प्रसाईं, राजेन्द्रबहादुर सिंह,
मुक्तिप्रसाद रिजाल, सीताराम मण्डल र डम्बर वि.क. छन्
।
आयोगले नेपालको प्रशासन
संयन्त्रमा आवश्यक सुधार र भविष्यको प्रारुप समेटेर
तयार पारिएको प्रतिवेदन सरकारलाई बुझाउने छ ।
मन्त्रीपरिषद् बैठकले
समाजकल्याण परिषद् विघटन गर्ने निर्णय पनि गरेको छ ।
परिषद्मा व्यापक भ्रष्टाचार हुने गरेका कारण परिषद
विघटन गरिएको प्रवक्ता महराले जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले बेपत्ता
नागरिक खोजी गर्न बनेको ऐन पनि पारित गरेको छ । केही
दिन अघि ऐनबारे सरकारले राय संकलन गरेको थियो ।
मन्त्रीपरिषद््ले केही राजनीतिक नियुक्तिसम्बन्धी
निर्णय पनि लिएको महराले बताउनुभयो ।
जसअनुसार नेपाल दुरसंचार
प्राधिकरणको अध्यक्षमा भेषराज काडेल र उदयपुर सिमेन्ट
कारखानाको प्रबन्धकमा उद्ववबहादुर कार्की नियुक्त भएका
छन् । त्यस्तै निजामती कर्मचारी अस्पताल सञ्चालक
समितिको सदस्यमा डा.भगवान कोइराला र चित्रनाथ रिजाल थप
गरिएका छन् ।
बैठकले प्रधानमन्त्री
पुष्पकमल दाहाल 'प्रचण्ड ’को
अध्यक्षतामा आर्थिक परिषद्् गठन गरेको छ । परिषद्ले
ठूला लगानीका विकास आयोजनाहरूमा दाताहरूसँग सिधै
सम्पर्क कायम गरी काम अघि बढाउने बताइएको छ ।
अस्पतालका कर्मचारीलाई कोठैपिच्छे तीनवटा हिटर
तिलक अधिकारी
मकवानपुर, ४ मङ्सिर
: हेटौंडा अस्पतालका सबै
कर्मचारी क्वाटरहरूमा हिटरको प्रयोग हुने गरेको पाइएको
छ । अस्पतालको कात्तिक महिनामा उठेको बिल अध्ययन गर्दा
सो कुरा खुलेको हो ।
विद्युत् महशुल अस्वाभाविक
देखिएपछि यति धेरै विद्युत् के काममा खपत हुन्छ भनेर
खोज्ने क्रममा अस्पतालका कर्मचारी निवासहरूमा
निवासैपिच्छे दुई-तीनवटा हिटर प्रयोगमा आइरहेको भेटिएको
छ ।
कर्मचारीलाई सुविधा होस् भनेर
अस्पतालले निवासको व्यवस्था गरेको छ । 'तर निवासमा
बस्ने कर्मचारीहरूले सरकारी साधनको दुरुपयोग गर्दासम्म
अस्पताल प्रशासनले केही गर्न सकेको छैन ’
एक कर्मचारीले बताए ।
'अस्पतालमा बस्ने चालीसभन्दा बढी कर्मचारी र तिनका
परिवारले हिटरको प्रयोग गरिरहेका छन् । कर्मचारी
निवासमा हिटरको प्रयोग बढेका कारण विद्युत् महसुलसमेत
बढी उठ्ने गरेको हो ’ उनले
बताए ।
कर्मचारीले आफ्ना परिवारसमेत
ल्याएर बस्ने गरेको र विद्युत् दुरुपयोग हुँदा
सरकारलाई आर्थिक भार समेत थपिएको छ । अस्पतालका
कर्मचारीहरूले एउटा कोठामा दुई-तीनवटासम्म हिटर बाल्ने
र खानासमेत ग्याँस प्रयोग नगरी हिटरमै पकाउँछन ।
अस्पतालका एक कर्मचारीका अनुसार दुई हजार वाटसम्मका
हिटर प्रत्येक कोठामा प्रयोगमा छन् । प्रत्येक कोठामा
हिटरको प्रयोग हुने भएपछि कात्तिक महिनामा मात्र
प्राधिकरणलाई अस्पतालले २९ हजार ८ सय ३४ रुपैयाँ महशुल
बुझाउनुपर्ने भएको छ ।
अस्पतालका कर्मचारीहरूका
अनुसार अस्पतालमा हिटरको प्रयोग हुन्छ भन्ने कुरा
सबैलाई थाहा हुँदाहुँदै पनि कसैबाट यसको नियन्त्रण
हुनसकेको छैन । अहेब भोला चौलागाई भन्छन्,'सबैका कोठामा
हिटर प्रयोग हुन्छन् । ’
सरकारले अनावश्यक खर्च कटौती
गर्न निर्देशनदिइरहेका बेला अस्पतालमा भने सरकारलाई थप
आर्थिक भार पार्ने काम भइरहेको छ । कर्मचारी निवासमा
हिटरको व्यापक प्रयोग भइरहे पनि अस्पतालका भग्नावशेषमा
समेत हिटर राखिएको पाइन्छ ।
अस्पतालका मेडिकल
सुपरिटेण्डेन्ट डा. इन्द्र प्रजापतिले हिटर नबाल्न
सबैलाई पटकपटक लिखित आग्रह गरेको बताए । 'बारम्बार
आदेश दिएको हो, बाल्न छाड्दैनन ’
उनले भने ।
अस्पतालले हिटरको प्रयोग भइरहेको विषयलाई लिएर एउटा
नियन्त्रण गर्न समिति नै बनाएको छ । हरि पौडेलको
संयोजकत्वमा बनाइएको उक्त समितिले सुझाव पेश गरेपछि
आवश्यक कदम चालिने प्रजापतिले बताए । प्रजापतिका
अनुसार अब सबै निवासमा सवमिटर राख्ने काम शुरु हुनेछ ।
'अब सबैमा मिटर राखिनेछ ’
उनले भने । कर्मचारी र तिनका परिवारले प्रयोग गरिरहेको
बिजुलीको महशुल अस्पतालले व्यहोर्दै आएको छ ।
अहिलेसम्म अस्पतालले पाँच लाखभन्दा बढी रकम
प्राधिकरणलाई तिर्नुपर्ने छ ।
कर्मचारी निवासमा हिटरको व्यापक प्रयोग हुँदा पनि
सरकारले आवश्यक कदम नचालेकोमा केही कर्मचारीले आपत्ति
जनाएका छन् । 'परिवारै ल्याएर राख्ने अनि पैसा चाहिं
अस्पतालले तिर्नु पर्ने ? ’
एक कर्मचारीले दुखेसो पोखे ।
प्रमुख जिल्ला अधिकारी अनिल पाण्डेले आफूले तत्काल
निवासबाट हिटर हटाउन निर्देशन दिएको बताए । 'सबै
निवासमा सवमिटर राखिदिनुस् र खर्चमा मितव्ययिता
अपनाउनुहोस् भनेको छु ’
पाण्डेले भन्नुभयो । यता अस्पतालमा चौबीसै घण्टा
विद्युत् आपूर्ति गर्न अस्पतालले काम थालेको छ ।
मन्त्रालयबाट लेखाएर ल्याइएको र काम शुरु भइरहेको
अस्पतालले जनायो । अस्पतालका अनुसार चौबीसै घण्टा
विद्युत् आपूर्ति भए जेनेरेटरमा लाग्ने खर्चको अन्त्य
हुनेछ । 'जेनेटर खर्च बच्छ, त्यसैले प्रकृया सुरु भएको
छ’ अस्पताल स्रोतले भन्यो । |