नयाँ संविधान
निर्माणको तयारी
राष्ट्रको मूल राजनीतिक एजेण्डाका
रुपमा स्थापित एवं नेकपा -माओवादी)द्वारा प्रस्तावित
संविधानसभाको निर्वाचन सम्पन्न भएको सात महिनापछि
संविधानसभाले संविधान निर्माण गर्ने तालिका सार्वजनिक
गरेको छ । आइतबार बसेको संविधानसभा बैठकले विभिन्न
प्रक्रियाहरु पूरा गर्दै अबको अठार महिना अर्थात् २०६७
साल जेठ महिनासम्म नेपाली जनतालाई नयाँ संविधान उपलब्ध
गराउने कुरा संविधानसभाले सार्वजनिक गरेको व्यहोराबाट
बुझिएको छ । तय गरिएको तालिका र आवश्यक प्रक्रियाहरु
पूरा भएमा साथ साथै संविधानसभामा प्रतिनिधित्व गर्ने
राजनीतिक दलहरु नेपाली जनताको अपेक्षा पूरा गर्न
इमान्दार बनेमा नयाँ संविधान निर्माण हुने सम्भावना
देखा पर्दैछ ।
तर राजनीतिक दलहरुको इतिहास र
वर्तमानका सोच, विचार, चिन्तन र व्यवहारबाट नेपाली
जनताले अपेक्षा गरेको नयाँ संविधान निर्माण हुने
सम्भावनाप्रति भने आशंका प्रशस्त देखिन्छन् । हाम्रा
सामु स्पष्ट के छ भने नेकपा -माओवादी)ले युद्धकालदेखि
नै नेपाली जनतालाई निर्णायक शक्तिका रुपमा स्थापित
गर्न संविधानसभाको एजेण्डा प्रस्तुत गर्दा संविधानसभाकै
मूल विषयमा सहमति बन्न नसक्दा २०५८ र ०६० सालका दुई/दुई
वटा वार्ता असफल भएका थिए । त्यतिबेला सामन्ती
राजतन्त्रका रक्षाकवच बन्दैआएका कांग्रेस एमालेलगायतका
संसद्वादी दलहरुकै नकारात्मक भूमिकाको परिणामस्वरुप
वार्ताहरु असफल भएको कुरा कतैबाट छिप्न सक्तैन ।
स्पष्ट छ नेकपा -माओवादी)ले
सामन्ती राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना गर्ने
एजेण्डासहित सिलगुडीदेखि लखनऊ रोल्पा हुँदै दिल्लीसम्म
पुगी दलहरुसँग वार्ता चलायो । गणतन्त्रको 'ग
सम्म सुन्न नचाहने संसद्वादी
दलहरुलाई भूतपूर्व तानाशाह ज्ञानेन्द्रले सत्ताच्युत
गरेपछि मात्र उनीहरु माओवादीको गणतन्त्रको एजेण्डामा
आएको र १२ बुँदे समझदारी बनेको यथार्थ सर्वविदित छ ।
यदि त्यति बेलै संसद्वादी राजनीतिक दलहरुले
गणतन्त्रलाई आत्मसात् गर्न सकेको भए र संविधानसभाको
प्रस्तावलाई स्वीकार गर्न सकेको भए आज मुलुक शान्ति र
समृद्धिको शिखरमा पुगिसक्ने थियो भन्ने कुरामा विमति
राख्न पर्दैन । इतिहास ताजै छ र नेपाली जनता साक्षी छन्
यसमा कसैले विभ्रमित पार्न सक्तैन ।
निश्चय पनि ठूलो बलिदान र लामो
संघर्षले ल्याएको उपलब्धिको रक्षा गर्नैपर्छ ।
संवधानसभाको निर्वाचत ख्याल ख्यालमा सम्पन्न भएको होइन
। यसमा दश वर्षीय जनयुद्ध र १९ दिने जनआन्दोलनको तागत
छ । यसका सँगसँगै पन्ध्र हजार सहिदको बलिदानी र
कुर्बानी छ । त्यतिमात्र होइन नेकपा -माओवादी)को कुशल
नेतृत्वको भूमिका छ । अझ भनौं हजारौं बेपत्ता नागरिक,
हजारौं घाइते, अपाङ्ग तथा लाखौंलाख नेपाली जनताले सहेको
यातना, पीडा र मर्मको योगदान छ ।
हो, यतिबेला मुलुकले नयाँ
संविधान लेख्ने बेला आएको छ । नेपाली जनता नयाँ
संविधानको व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् । नयाँ
संविधान निर्माण गर्ने कुरा जताततै उठिरहेका छन् ।
निश्चित रुपमा संविधान नयाँ नै लेख्ने हो । हालसम्म
जारी पाँच वटा संविधानभन्दा अब लेखिने संविधान वास्तवमा
नयाँ हुनैपर्छ । तर यतिबेला नयाँ संविधानको परिभाषा
बारे बहस चलेको छ र बहस अझ व्यापक रुपमा चल्नुपर्छ र
पहिलो कुरा संविधान लेख्दा पन्ध्र हजार सहिदहरुको रगतको
उच्चतम मूल्यांकन हुन जरुरी छ । उनीहरुको भावना र चाहना
नयाँ संविधानमा प्रतिविम्बित हुन नितान्त जरुरी छ ।
दोस्रो कुरा हालसम्म विभिन्न तरिकाले उपेक्षित,
उत्पीडित र सिमान्तकृत जनताको अपेक्षा समेटिनु
त्यत्तिकै अनिवार्य छ । महिला, दलित, जनजाति मधेसी र
उपेक्षित क्षेत्रका जनताका भावना र अधिकार स्थापित
गर्न नसके संविधान नयाँ बन्न सक्दैन भन्ने कुरा
निर्माताहरुले गम्भीर रुपमा लिनैपर्छ ।
उता स्वाधीन स्वतन्त्र तथा संघीय
एवं जनमुखी अर्थात् जनताको संविधान बनाउनै सकिएन भने न
राष्ट्रियताको रक्षा न त नेपाली जनताको सार्वभौम
अधिकार नै स्थापित हुनसक्छ । यस्तो गम्भीर एवं नेपाल र
नेपाली जनताको भाग्य र भविष्यसँग जोडिएको विषयलाई हल्का
ढंगले लिनु दुर्भाग्य नै हुनेछ । यतिबेला माओवादीले
जनसंविधानका बारेमा गम्भीर प्रकारको बहस पार्टी भित्र
र बाहिरसमेत उठाइरहेको छ । यो बहस जनस्तरसम्म जानु
जरुरी पनि छ ।
त्यसो त जनगणतन्त्रात्मक
संविधानको बहस चल्दा तर्सने र झस्कनेहरुले कस्तो नयाँ
संविधान लेख्लान् भन्ने प्रश्न उठिरहेको छ । यतिबेला
फेरि पनि संविधान लेख्ने सवालमा कांग्रेस भाग्न खोज्दै
छ । उसले विद्रोहको घुर्की र धम्कीको भाषामा संविधान
लेख्न अवरोध खडा गर्ने बाँदरे शैली अपनाउँदैछ ।
रोष्ट्रम घेरा जस्ता बखेडा झिकेर संविधान लेख्ने काम छ
महिना धकल्दै आएको कांग्रेस फेरि नयाँ नयाँ हत्कण्डा
अपनाउँदै संविधान नलेख्ने षड्यन्त्रमा जुट्दै छ । अतः
जनसंविधान लेख्न अनुकूल वातावरण निर्माण गर्न सम्पूर्ण
राजनीतिक दलहरु इमान्दार बन्नैपर्छ र सिङ्गो नागरिक
समाजले खबरदारी गर्नैपर्छ तब मात्र नयाँ संविधान तालिका
अनुसार निर्माण हुनेछ ।
प्रकाशकीय
हाम्रो
गौरवमय अविराम यात्रा
नेपाली राजनीतिको संघर्षमय
यात्रासँगै जनादेशले आफ्ना चुनौतीपूर्ण १७औं वर्ष पार
गरेको छ । यो खुशीको अवसरमा हामी हाम्रा पाठक,
विज्ञापनदाता, लेखक र सम्पूर्ण शुभेच्छुकप्रति खुशी
आदानप्रदान गर्न चाहन्छौं ।
जनादेश आफैंमा राजनीतिक मिसनसहित
प्रकाशित साप्ताहिक हो । नेपाली समाजको वर्गसंघर्षका
क्रममा यसले खेलेको भूमिका नै पत्रिकाको पहिचान हो ।
त्यस अर्थमा हाम्रा विज्ञ पाठकलाई इतिहासका धेरै
पक्षहरूका बारेमा बताइरहनुपर्ने जरुरी ठान्दैनौं । १७
वर्षको इतिहासमा हामीले देश विदेशका लाखौं पाठकहरूको
माया पायौं र त्यो क्रम जारी छ । हाम्रा नयाँ पाठकहरू
इतिहासका ती संघर्षमय दिनसँग विज्ञ नहुन पनि
सक्नुहुन्छ त्यसर्थमा इतिहासका कालखण्डहरूको यस
सन्दर्भमा चर्चा गर्नु सान्दर्भिक ठान्दछौं ।
२०४६ सालको आन्दोलनपछिको सीमित
राजनीतिक स्वतन्त्रतालाई उपयोग गर्दै १७ वर्षअघि यो
पत्रिकाको जन्म भएको थियो । टुट, फुट र गुट निर्माणका
बीचबाट अघि बढिरहेको नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ
जनवादी राज्यसत्ता स्थापना हेतू एकीकृत गर्ने
कम्युनिष्ट क्रान्तिकारीहरूको महान् पहल अघि बढिरहेको
बेला जन्मेको थियो यो पत्रिका । नेपालमा क्रान्तिकारी
कम्युनिष्ट पार्टी निर्माणको प्रक्रियामा यसले आफूलाई
क्रान्तिकारी एकताको मुखपृष्ठका रूपमा उभ्यायो ।
बहुदलीय सरकारले त्यही बेला पश्चिम नेपालका
रोल्पा-रुकुममा चलाएको ज्यादति विरुद्ध आफूलाई एक
जोधाहा मशालको रूपमा निर्धक्क उभ्यायो ।
२०५२ सालमा मुक्तिकामी
सर्वहारावर्गले जनयुद्धको शंखघोष गर्दा पत्रिकाले
त्यसको स्वागत मात्रै गरेन सदैव मुक्तिकामी वर्गको
पक्षमा अटल भएर उभिने संकल्प गर्यो । १० वर्षे
जनयुद्धकालभरि पत्रिकाले आफूलाई क्रान्तिको शहरी
अस्त्रको रूपमा विकास गर्यो । यसरी नेपाली समाज
रूपान्तरणको संघर्षको प्रक्रियासँगै यसले आफूलाई
एकाकार गर्दै निर्भिकतापूर्वक अघि बढिरहृयो । इतिहासको
संघर्षमय यात्राका क्रममा पत्रिकाले आफ्नो आस्थाको
पत्रिकारिता गरेवापत तत्कालीन प्रतिक्रियावादी सत्ताले
पत्रिकाका श्रद्धेय सम्पादक कृष्ण सेन 'इच्छुक’को
निर्ममतापूर्वक हत्या गर्यो । यसका साथै तत्कालीन
प्रबन्धक मिलन नेपाली अहिलेसम्म पनि बेपत्ता अवस्थामा
हुनुहुन्छ । यसका साथै दर्जनभन्दा बढी आफ्ना
सहयोद्धाहरू जनादेशले वर्गसंघर्षमा गुमाएको छ । त्यस
अर्थमा जनादेशका इतिहास बलिदानका इतिहास हो ।
खुला राजनीतिक परिवेश, जनयुद्धका
जटिल र चुनौतीमय दिनमा समेत पत्रिकाले जोखिमपूर्ण
यात्रा गर्दै पाठकका हातहातसम्म पुर्याउन आफूलाई सफल
भयो । इतिहासको गौरवमय यात्राबाट गुज्रेको पत्रिकाले
आफ्ना दर्जनौं साथीहरूलाई गुमाउनुका बाबजुद एउटा
समुन्नत र समतामूलक नेपालको प्रतिनिधि पत्रिकाका रूपमा
आफूलाई अघि बढाइरहन पाउँदा पत्रिका परिवार गर्वले थोरै
फुलेको पनि छ ।
जनादेशको इतिहास नेपाली राजनीतिको
इतिहाससँग मजबुत ढंगले जोडिएको छ । नेपालको राजनीतिमा
हुने उतारचढावसँग मात्रै यसले पौठेजोरी खेल्दै अघि
बढेको छैन, कम्युनिष्ट आन्दोलनभित्रका घात-प्रतिघातसँग
जुध्दै यसले आफूलाई अब्बल रूपमा स्थापित गर्दै अघि
बढेको छ ।
क्रान्तिको इतिहाससँग जोडिएको
पत्रिकाको भविष्य पनि नेपाली जनताको क्रान्तिको
भविष्यसँग जोडिएको छ । नेपाली क्रान्तिको विकास वा
विनास यस पत्रिकाको विकास र विनाससँग त्यस अर्थमा
अनिवार्य रूपले जोडिएर आउने छ । यो पत्रिका १८औं वर्षमा
प्रवेश गरेको सन्दर्भमा हामी हाम्रा श्रद्धेय
पाठकहरूसमक्ष प्रतिज्ञा गर्छौ कि हामी लडिरहने छौं
प्रतिक्रान्तिकारी विचारविरुद्ध र हामी लडिरहने छौं
क्रान्तिकारी जनसमुदायसँग कााधमा कााध मिलाउँदै एउटा
नयाँ सुन्दर संसारको सिर्जनाका लागि ।