टिप्पणी
माओवादी नेतृत्वको विरोधमा नियोजित दुस्प्रचार
किरण
ने.क.पा.-माओवादी) को केन्द्र्रीय समितिको पाँचौ विस्तारित बैठकको आसपास र त्यस यता केन्द्रीय समितिभित्र ठूलै र अस्वस्थ प्रकारको अन्तःसंघर्ष चलेको छ भनी नियोजित र कुत्सित प्र्रकारका दुष्प्रचारहरु हुँदै आएका छन् । यसप्रकारका दुष्प्रचारहरुबारे छोटो टिप्पणी गर्नु आवश्यक देखिएको छ ।
यस सन्दर्भमा सर्वप्रथम ८मई २००७ मा अन्तर्राष्ट्रिय क्राइसिस गु्रपद्वारा एसिया रिपोर्ट नं.१३२ मा 'नेपालका माओवादीहरुः विशुद्धतावादी या व्यवहारवादी' शीर्षकमा प्रकाशित एउटा लामो लेखमाथि ध्यान दिन जरुरी छ । सो लेखमा हाम्रो पार्टी ने.क.पा.
-माओवादी) को नेतृत्वबारे नकारात्मक रुपमा भद्दा चित्रण गरिएको छ । त्यसमा हाम्रो पार्टीभित्र विशुद्धतावाद र व्यवहारवादका बीच कथित अस्वस्थ प्रकारको संघर्ष चलिरहेको कुरा दर्शाइएको छ र त्यसमा केन्द्रीय समितिको चुनवाङ्ग बैठकको प्र्रसंग कोट्याउँदै "प्रचण्डले भट्टराईको राजनीतिक कार्यदिशा र भट्टराईले प्रचण्डको प्रमुखता अंगीकार गरेको" कुरा समेत बताइएको छ । यो विषयलाई लिएर केही पत्र-पत्रिकाहरु सहित विभिन्न सञ्चार माध्यमहरुले अनेकौं प्रकारका दुष्प्र्रचार गर्दै आएका छन् । यसै कुरालाई लिएर भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ्ग जिल्लाको सिलगुडीबाट प्रकाशित हुने 'सुनचरी' दैनिक -२५ अक्टोवर २००७) ले 'नेपालको माओवादीमा प्रचण्ड-बाबुराम समक्ष हार्डलाईनर नेताहरु प्रभावी' शीर्षकमा समाचार छापेको छ र त्यसमा "बादल, किरण र विप्लव"लाई हार्डलाइनरका रुपमा पेश गरिएको छ । हालै यसै विषयलाई लिएर 'कान्तिपुर' दैनिक
-बुधवार ७ कार्तिक २०६४) मा कनकमणि दीक्षितको 'बादल फाट्छ पनि' शीर्षकमा एउटा लेख पनि प्रकाशित भएको छ । यी सबै कुराकोे मूल उद्देश्य ने.क.पा.-माओवादी) को नेतृत्व, विचार र कार्यदिशालाई तोडमोड गरेर पेश गर्नु र ने.क.पा.-माओवादी) भित्र अस्वस्थ प्रकारको दुई लाइन संघर्ष चलेको छ भनेर कृत्रिम रुपमा प्रचारबाजी गर्नु रहेको छ ।
कान्तिपुरको सो लेखमा कनकमणि दीक्षितले ने.क.पा.-माओवादी) को विरोधमा अनेकौं प्रकारका भ्रमहरु फैलाउँदै साम्राज्यवादको सेवा गर्ने दुष्प्रयास गरेका छन् । उनको दृष्टिमा "रामबहादुर थापा र वैद्यको 'राष्ट्रवादी-र्‍याडिकल' अडानले मंसिर ६ को चुनाव स्थगन" भएको हो । यो भनाइ अत्यन्तै पूर्वाग्रहपूर्ण रहेको छ । वस्तुतः मंसिर ६ को संविधानसभाको स्थगन माओवादीको र त्यसमा पनि कथित राष्ट्रवादी-र्‍याडिकल अडानको कारणले होइन, अपितु नेकाको एकदलीय अधिनायकवादी, अलोकतान्त्रिक र अदूरदर्शी राजनीतिक चिन्तन एवम् प्रवृत्तिको कारणले हो । यसैगरी दीक्षित ने.क.पा.
-माओवादी) लाई उपदेश दिन चाहन्छन् र उनी "लोकतान्त्रिक विचारको कमीले माओवादीभित्र बहुलवादी आस्थाले अझै जरा गाड्न नसकेको" ठान्दछन् । यहाँ दीक्षित के कुरा बुझ्न असमर्थ छन् भने माओवादीहरु द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणका पक्षधर हुन् र उनीहरु बहुलवादी विश्वदृष्टिकोण समक्ष वैचारिक आत्मसमर्पण गर्नका लागि शान्ति प्रक्रियामा आएका होइनन् । त्यतिमात्र होइन, दीक्षित अगाडि भन्दछन्-"माओवादीको अतिवादी खेमाको बोलवाला रहेसम्म मुलुकलाई राम्रो हुँदैन । माओवादीभित्रकोे लोकतान्त्रिक धारलाई टेवा दिन एउटा उपाय छ । त्यो कांग्रेस र एमाले बीचको एकता हो ।" यहाँ दीक्षितले साम्र्राज्यवादको इसारामा ने.क.पा.-माओवादी) भित्रको कथित अतिवादी खेमामाथि प्र्रहार मात्र गरेका छैनन्, अपितु सिंगो माओवादीका विरुद्ध समेत पूरा विषवमन गरेका छन् र उनका यी विचारहरुमा साम्र्राज्यवादी डलरको दुर्गन्ध आउँछ । एमाले तथा माओवादीका बीचमा फुट पार्नु र त्यसलाई अझै अतीततर्फ धकेल्दै आफ्नो हस्तक्षेप बढाउनु साम्राज्यवादको अभीष्ट हो । यहाँ दीक्षित यही अभीष्टका खातिर चाटुकारी भाक्षा अलापि रहेका छन् ।
सो लेखबारे 'साँघु' साप्ताहिकले -२०६४ कार्तिक १२) मा 'बादलविरुद्ध क्राइसिस ग्रुप' शीर्षक दिएर एउटा टिप्पणी पेश गरेको छ । सो टिप्पणीमा भनिएको छ-"इन्टरनेशनल क्राइसिस गु्रपको १८ मे २००७ को एसिया रिपोर्ट नं.१३२ मा नेपालको माओवादी आन्दोलन सन्दर्भमा विशेष सामग्री तयार गरेको छ । यस रिपोर्टमा माओवादी पार्टीभित्र दुई वटा पक्ष सशक्त रहेको उल्लेख छ । आधुनिक लाइन पक्षधरमा प्रचण्ड-बाबुराम र त्यसका विपक्षमा मोहन वैद्य, रामबहादुर थापा -बादल), चर्चित युवा नेता नेत्र विक्रम चन्द -विप्लव) लगायतलाई शुद्धतावादी राजनीतिक धारको रुपमा प्रस्तुत गरिएको छ । आधुनिक पक्षधर भनेर अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई सहयोग गर्न र अनुदारवादी धारको रुपमा प्र्रस्तुत गरिएका मोहन वैद्य र बादल लगायतका नेताहरुको विरुद्ध जानका निम्ति इन्टरनेशनल क्राइसिस गु्रपले आफ्नो रिपोर्ट मार्फत् विश्वव्यापी आव्हान गरेको छ ।.....जसको प्रभावमा नेपालमा पनि कनकमणि दीक्षित लगायतले माओवादीका नेता बादलविरुद्ध लेख्न शुरु गरेका छन् ।" यो टिप्पणीबाट दीक्षितको मनसाय सहित धेरै कुरा बुझ्न मद्दत पुग्दछ ।
ने.क.पा.-माओवादी) भित्र के यसै प्रकारको व्यवहारवाद र विशुद्धतावाद, नरमपन्थी र गरमपन्थीका बीच साँच्चैको अन्तःसंघर्ष छ त ? या यसप्र्रकारको कृत्रिम अन्तर्विरोधको सिर्जना जानी-जानी र नियोजित ढंगले कतैबाट भैरहेको छ ? यी अत्यन्तै गंभीर प्र्रकारका प्रश्नहरु हुन् ।
ने.क.पा.-माओवादी) क्रान्तिकारी कम्युनिष्ट पार्टी हो । कुनै पनि सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र अन्तःसंघर्ष चल्छ, दुई लाइन संघर्ष विद्यमान हुन्छ र यस प्र्रकारका संघर्षका बीचबाट पार्टीमा नयाँ आधारमा नयाँ एकता हुँदै जान्छ, पार्टी निरन्तर नयाँ उँचाइ हासिल गर्दै अगाडि बढ्दछ । यो भौतिकवादी द्वन्द्ववादको सार्वभौम नियम र मान्यता हो । हाम्र्रो पार्टी यस प्रकारको नियमको अपवाद रहेको छैन र हुनपनि सक्तैन । सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा यही हो । दोस्र्रो, हाम्रो पार्टीभित्रको "दुई धारा वा प्रवृत्ति" बीचको संघर्षबारे जुन अतिरंजित र अतिशयोक्तिपूर्ण रुपमा बाहिर चर्चामा ल्याउने गरिएको छ त्यो पूरा झूट र बकवास हो । हाम्रो पार्टी ने.क.पा.-माओवादी) अध्यक्ष क.प्र्रचण्डको नेतृत्वमा एक ढिक्का भएर अगाडि बढिरहेको छ र यहाँ कसैले कतैबाट चलखेल गर्ने दुष्प्रयास नगर्दा हुन्छ । तेस्रो, यस प्र्रकारको झूट र बकवासभित्र कुत्सित षड्यन्त्र लुकेको छ र यो काम नियोजित रुपमा भएको देखिन्छ । यसबारे गंभीर बन्न र यसप्रकारका षडयन्त्रहरुको पर्दाफास गर्दै अगाडि बढ्न जरुरी छ ।
हाम्रो पार्टीभित्र यस प्रकारको दुईधारा बीचको संघर्ष भएको कुराको होहल्ल्ाँ गरेर सिंगो ने.क.पा.-माओवादी) लाई बदनाम गर्ने जुन काम भइरहेको छ त्यो अत्यन्तै निन्दनीय छ । एउटालाई विशुद्धतावादी र अर्कोलाई व्यवहारवादी वा एउटालाई गरमपन्थी र अर्कोलाई नरमपन्थी धाराको रुपमा प्रस्तुत गरेर एउटा पक्षलाई तान्ने तथा अर्को पक्षलाई हान्ने जुन निकृष्ट प्रकारको अभिनय गरिएको छ त्यो सारतः दुवै पक्षलाई जनताको नजरमा गिराउने, दुवैको राजनीतिक हत्या गर्ने र अन्ततः पूरै पार्टीको बदनाम गर्ने कुत्सित षड्यन्त्रमा आधारित रहेको छ ।
ने.क.पा.-माओवादी) नेपालमा सामन्तवादको विरुद्धमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि संघर्षरत रहिआएको छ । ने.क.पा.-माओवादी) साम्राज्यवाद र विस्तारवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सचेत रुपमा आन्दोलनरत रहिआएको छ । यसै गरी ने.क.पा.-माओवादी) वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय र जातव्यवस्थामा आधारित समस्याहरुको समाधान सहित राज्यको पुनः संरचना गरी नयाँ नेपालको निर्माणका खातिर अग्रपंक्तिमा रही निरन्तर संघर्ष गर्दै आएको छ । आज साम्राज्यवादी, विस्तारवादी तथा पश्चगामी शक्तिहरु क्रान्तिकारी विचार र संघर्षका बीचबाट विकसित भएको ने.क.पा.-माओवादी) को उज्यालो छवि, देश तथा जनताप्रतिको समर्पणभाव र महान् जनयुद्ध एवम् जनआन्दोलनको प्रक्रियामा जनसमुदायले प्रस्तुत गरेका त्याग, वीरता र बलीदानका उदात्त आदर्श र उच्च कीर्तिमानहरुलाई पूरा ध्वस्त पारेर देशका दलाल, खलनायक र भ्रष्ट तत्वहरुलाई स्थापित गर्ने दुस्साहस गर्न खोजिरहेका छन् र यो काममा मुठ्ठीभर नेपाली डलरवादी बुद्धिजीविहरु पूरै लागिपरेका छन् ।
ने.क.पा.-माओवादी) माथिका यी दुष्प्रचार केबल माओवादीसम्म मात्र सीमित छैनन् । अपितु नेपालको आन्तरिक राजनीतिमाथिको खुला हस्तक्षेप, नेपाली राष्ट्रिय स्वाधीनतामाथिको गंभीर खतरा र नयाँ नेपाल निमार्णको दिशामा गंभीर प्रकारको व्यवधान पुर्‍याउने दुष्कर्म र षडयन्त्रसंग अभिन्न रुपमा गाँसिएका छन् । यीसबैकुराबारे सच्चा देशभक्त, लोकतन्त्रवादी र वामपन्थीहरु सतर्क रहन नितान्त जरुरी छ ।